सभापति प्रतिष्पर्धा : चार उम्मेदवार एकातिर, एक्लिए शेखर

सभापति प्रतिष्पर्धा : चार उम्मेदवार एकातिर, एक्लिए शेखर

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हिजो सोमबार भएको पहिलो चरणको मतदानबाट कसैले पनि ५० प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुँदैछ ।

पहिलो चरणको निर्वाचनमा सभापतिका लागि पाँच जना उम्मेदवार रहेकोमा दोस्रो चरणमा भने दुई जनाबीच मात्रै प्रतिष्पर्धा हुँदैछ । आज दिउसो ३ बजेदेखि साँझ ७ बजेसम्म दोस्रो चरणको मतदान हुँदैछ । 

पहिलो चरणमा बाँडिएका सभापतिका उम्मेदवारहरुले भने देउवालाई सघाउने जनाएका छन् । 

पहिलो चरणको निर्वाचनमा देउवाले २२ सय ५८ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७ सय २९ मत पाएका थिए । अन्य प्रतिस्पर्धीहरु प्रकाशमान सिंहले ३७१ मत,  विमलेन्द्र निधिले २४९, र कल्याण गुरुङले २२ मत पाएका थिए ।

दोस्रो चरणको मतदानमा देउवा र कोइरालाबीच सभापतिका लागि भिडन्त हुँदैछ भने अन्य प्रतिष्पर्धीहरु सिंह, निधी र गुरुङले देउवालाई सघाउने घोषणा गरिसकेका छन् ।

तर सभापतिका उम्मेदवार कोइराला भने अझै पनि हार मान्दैनन् । उनले केहीबरअघि आयोजना गरिएको विशेष पत्रकार सम्मेलनमार्फत पहिलो चरणको निर्वाचनमा आफूलाई मतदान गर्नेहरुप्रति आभार प्रकट गर्दै अझै पनि जित्ने आशा व्यक्त गर्छन ।

उनी भन्छन्, ‘तपाईहरुको एक भोटले नेपालको भविष्य परिवर्तन हुनेछ, स्वविवेकले भोट हाल्नुहोला ।’ उनी मतदाताले गुट र भागबन्डा नहेरी कांग्रेस रुपान्तरणका पक्षमा भोट हाल्ने विश्वास व्यक्त गर्छन् ।