दोस्रो चरणको मत परिणाम स्वीकार्न तयार छु : डा शेखर कोइराला

दोस्रो चरणको मत परिणाम स्वीकार्न तयार छु : डा शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसको १४  औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचन आएको मत परिणाम स्वीकार्न तयार रहेको बताएका छन् । 

दोस्रो चरणको मतदानअघि विशेष पत्रकार सम्मेलन गर्दै डा.कोइरालाले महाधिवेशन प्रतिनिधिहरू आफैमा नेता भएको भन्दै उनले एक भोटका लागि पनि स्वविवेक प्रयोग गर्न आग्रह गरे ।

उनले भने, ‘तपाईको एक भोटले नेपालको भविष्य परिवर्तन हुनेछ, स्वविवेकले भोट हाल्नुहोला ।’ उनले मतदाताले गुट र भागबन्डा नहेरी कांग्रेस रुपान्तरणका पक्षमा भोट हाल्ने विश्वास व्यक्त गरे । 

कांग्रेस जीवनको समग्र सुधार गर्न खोजिरहेका कारण त्यसका पक्षधरले आफूलाई मत दिने बताए । उनले उनले लोकतन्त्रको भविष्य सुनिश्चित गर्नुका साथै आउने पुस्ताका लागि काम गर्ने बताए । 

पहिलो चरणमा मतदान गर्ने महाधिवेशन प्रतिनिधिप्रति उनले कृतज्ञतासमेत प्रकट गरेका छन् । देउवाले आफूलाई सुरक्षित गर्न प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन जुटाइसकेका छन् ।