पहिलो चरणमै सभापति जित्छु : डा.कोइराला

पहिलो चरणमै सभापति जित्छु : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफूले पहिलो चरणमै चुनाव जित्ने दावी गरेका छन् । राष्ट्रिय सभामा भोट हालेपछि छोटो प्रतिक्रिया दिँदै डा.कोइरालाले माहोल राम्रो भएको भन्दै आफूले पहिलो चरणमै चुनाव जित्ने दावी गरेका हुन् । उनले आफूहरुको प्यानल नै विजयी हुने विश्वास व्यक्त गरे । 

कांग्रेसको १४ महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान भइरहेको छ । एक सभापतिका लागि पाँच जना प्रतिष्पर्धामा उत्रिएका छन् ।

शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दिएका छन्। यीमध्ये देउवा र कोइरालाले प्यानल बनाएरै सम्पूर्ण पदमा उम्मेदवारी दिएका हुन् ।

त्यस्तै २ जना उपसभापतिका लागि सात जना, २ जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेद्वारी परेको छ ।

निर्वाचन समितिका अनुसार भृकुटीमण्डप ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ गरी जम्मा ८१४ बुथबाट कांग्रेसका ४७ सय बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्दैछन् ।