राजाले पनि नयाँ पार्टी खोले हुन्छ, ब्यापार गरे हुन्छ : माधव नेपाल

राजाले पनि नयाँ पार्टी खोले हुन्छ, ब्यापार गरे हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको दावी गरेका छन् । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्‌घान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई बरु पार्टी खोलेर राजनीतिमा आउन वा व्यापार गर्न सुझाव दिएका छन् । उनले वंशजकाे आधारमा शासन गर्ने दिन गएकाे उल्लेख गरे । 

उनले भने, ‘राजाले नयाँ पार्टी खोले हुन्छ, नभए व्यापार/व्यवसाय गरे हुन्छ ।’ उनले आज भन्दा १६ वर्षअगाडिको कांग्रेस महाधिवेशन स्मरण गर्दै अब नेपालमा राजतन्त्रको कुनै सम्भावना नरहेको जिकिर गरे । अध्यक्ष नेपालले दोस्रो जनान्दोलनमा कांग्रेससँग हातेमालो गर्दै अगाडि बढेको उल्लेख गरे । 

नेपाली जनताले राष्ट्रियतको रक्षा गर्न सक्ने भन्दै राजनीतिक विकृतिलाई पन्छ्याउनुपर्नेमा जोड दिए ।  उनले देशको राजनीतिमा कालो बादल मडारिएको भन्दै सावधान रहन उर्दी जारी गरे । उनले प्रतिगामी तत्त्वलाई फेरि शीर उठाउने दुस्साहस नगर्नसमेत चेतावनी समेत दिए ।

एउटै मञ्चमा बसेका प्रमूख प्रतिपक्षी नेकपा एमालेका अध्यक्षलाई इंगित गर्दै सत्ताको दुरूपयोग गर्ने प्रवृत्तिले देशको राजनीतिलाई अस्थिरतामा ल्याएको आरोपसमेत लगाए । उनले भष्ट्राचार, मैमत्त हुने स्वभाव, अरुको सम्मान नगर्ने प्रवृत्ति नेपाली राजनीतिको विकृति भएको दावी गरे । 

नेता नेपालले सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए ।