कांग्रेस महाधिवेशन : सभापतिका उम्मेद्वारमा जुटेन सहमति, सातै जना निर्वाचनमा होमिएलान् ?

कांग्रेस महाधिवेशन : सभापतिका उम्मेद्वारमा जुटेन सहमति, सातै जना निर्वाचनमा होमिएलान् ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस भएको छ । नेता प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाले आआफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस भएको हो । 

तीन दिनसम्म लगातार छलफल गर्दा पनि सिंह र कोइरालाले अडान नछोडेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा उपस्थित हुन छोड्नुभएको छ । संस्थापन इतर समूहका नेताहरुले कोइराला र सिंहबीच सहमति हुन नसकेमा पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर कोइराला र सिंहले सभापतिमा उठ्ने भन्दै प्रचार थालिसकेका छन् ।

महामन्त्री शशाङ्क कोइरालाले पनि वरिष्ठ नेता पौडेलका लागि मात्रै आफूले दाबी छाड्ने बताए । नेता विमलेन्द्र निधिले यसअघि नै सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन समूहमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई कसैले पनि चुनौती दिएको छैन ।

पौडेल समूहले उम्मेदवारीलाई अन्तिम रुप दिएपछि आफ्नो समूह घोषणा गर्ने देउवाको तयारी छ । पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि देउवालाई पनि उम्मेदवार छान्न सकस भएको छ । उद्घाटन सत्रसम्म प्यानल घोषणा नहुँदा नेताहरु अलमलमा परेका छन् । 

यता सिटौला समूहबाट पनि प्यानललै बनाएर महाधिवेशनमा होमिन दवाव परेको छ । जस्ले गर्द सिटौला पनि सभापतिमै उम्मेद्वारी दर्ता गर्ने तयारीमा रहेको स्रोतको दाबी छ ।