एमालेलाई सिद्धान्त र पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरेँ : भीम रावल

एमालेलाई सिद्धान्त र पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरेँ : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिँडाउन अन्तिमसम्म प्रयास गरेको बताएका छन् । सोही अनुरुप नै पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएको पनि बताएका छन् । 

चितवनमा भएको पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा ओलीसँग पराजित भएका नेता रावलले बुधबार सामाजिक सञ्जाल ट्वीटमार्फत यस्तो बताएका हुन् । उनले आफूलाई सहयोग गर्नेहरूलाई धन्यबादसमेत दिएका छन् । 

उनले लेखेका छन्, ‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।मलाई साथ,समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता प्रकट गर्दछु।’

एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा ओलीले १८४० मत ल्याएर विजयी बनेका छन् भने उनको प्रत्यासी रावलले २२३ मत ल्याएका हुन् । अनौपचारिक रुपमा मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उनले भनेका थिए, ‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो तर पनि उम्मेदवारी दिएको हुँ ।’