भारी मतान्तरले नेकपा एमालेको अध्यक्षमा ओली पुनः निर्वाचित

भारी मतान्तरले नेकपा एमालेको अध्यक्षमा ओली  पुनः निर्वाचित

चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेतृत्व चयनका लागि भएको निर्वाचनमा वर्तमान उपाध्यक्ष डा. भीम रावललाई भारी मतान्तरले हराउँदै ओली अध्यक्ष विजयी बनेका हुन् । 

ओलीले १८०८  मत पाएर अध्यक्षमा विजयी बनेका छन् भने उनका प्रत्यासी रावलले २१३ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

केन्द्रीय निर्वाचन आयोगले केही बेरमा औपचारिक घोषणा गर्दैछन् । नेकपा एमालेमा नेतृत्व चयनका लागि पहिलोपटक विद्युतीय मतदान मेसिन प्रयोग गरिएको थियो । 

अध्यक्ष ओलीले सहमतिका लागि ३०१ सदस्यीय केन्द्रीय कमिटीको नाम घोषणा गरे पनि रावलसहित केही नेताहरुले असन्तुष्टि जनाएपछि विवादित केही पदाधिकारीसहितका पदमा निर्वाचन भएको थियो । मंगलबार विहान मतदान भएको थियो । जम्मा २ हजार १५३ मतदातामध्ये २ हजार ९६ मत खसेको आयोगले जनाएको छ । 

नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा पनि सर्वसहमतबाट रावललाई उपाध्यक्ष पद दिने ओलीले प्रस्ताव गरेका थिए । तर ओलीको प्रस्तावलाई अस्वीकार गर्दै रावलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।