एमाले महाधिवेशन : अध्यक्षसहित यी पदमा हुँदैछ प्रतिष्पर्धा

एमाले महाधिवेशन : अध्यक्षसहित यी पदमा हुँदैछ प्रतिष्पर्धा

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशण गरिउको छ । एमाले केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । 

पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी÷विरोधलगायत उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रियाका लागि समय छुट्याएको छ । 

एमालेको १० औं महाधिवेशमा अध्यक्षसहित १४ पदाधिकारीका लागि निर्वाचन हुने भएको छ । अध्यक्ष केपी ओलीको पहलमा सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदका लागि निर्वाचन हुन लागेको हो ।

अध्यक्षमा ओली र भीम रावल भिड्दैछन् भने उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् ।

जबकी यसअघि ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डेलाई प्रस्ताव गरेका थिए । ओलीको उक्त सूचीप्रति असन्तुष्टी जनाउँदै घनश्याम भुसालले उम्मेदवारी दिएसँगै सो पदका लागि पनि प्रतिष्पर्धा हुन लागेको हो । 

त्यस्तै सचिव पदको सूचीमा आफ्नो नाम नपरेको भन्दै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् । ओलीले सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छबिलाल बिश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिष्ट र पद्मा अर्यालको नाम सार्वजनिक गरेका थिए । 

वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा थप उम्मेदवारी नपरेकाले निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । 

नेकपा एमाले नेताहरुले महाधिवेशनलाई सहमतिको महाधिवेशन बताउँदै आएपनि सहमत जुट्न नसक्दा अन्ततः पदाधिकारीका लागि निर्वाचनको बाटो अपनाइएको हो ।