चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काम गर्न नदिनेहरू नै अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको साथमा रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार चितवनमा आयोजित एमालेको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री यही हुनुहुन्छ, म उहाँलाई केही भन्न चाहन्न । किनकी म बुझ्छु उहाँलाई काम गर्न अप्ठेरो छ ।’ उनले थपे, ‘पहिला मलाई काम गर्न नदिनेहरुले उहाँको खुट्टा समाइरहेका छन् ।’
अध्यक्ष ओलीले नेकपा माओवादी र एकीकृत समाजवादीतर्फ संकेत गर्दै काम गर्ने चाहना प्रधानमन्त्रीमा भएपनि उनीहरुले काम गर्न नदिएको टिप्पणी गरे । ओलीले अतिथि बोलाएर देउवाका विषयमा थप टिप्पणी गर्नु वाञ्छनीय नहुने भन्दै उनलाई काम गर्न प्रचण्ड र माधव नेपालले नदिएको बताएका हुन् ।
अध्यक्ष ओलीले आगामी स्थानीय तहमा ४० प्रतिशत नभई ५० प्रतिशत भन्दा बढी स्थानमा जित हासिल गर्ने दावी गरे । उनले भने, ‘आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ । पहिला बाँकी रहेका विकासका सम्पूर्ण काम गर्छ ।’