सार्वजनिक यातायातका साधानमा गीत बजाउन मनाई

सार्वजनिक यातायातका साधानमा गीत बजाउन मनाई

काठमाडौं : सार्वजनिक यातायातका साधानमा अब गीत बजाउन नपाइने भएको छ। सार्वजनिक गाडीमा गीतकै कारणले दुर्घटना बढ्दै गएको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचना मार्फत म्युजिक सिस्टम नराख्न निर्देशन दिएको छ।

सवारीसाधनको क्याविनमा सजाइएका सामान र म्युजिक सिस्टम नराख्न विभागले निर्देशन दिएको छ। म्युजिकमा चालकको ध्यान जाँदा गाडी दुर्घटना हुने गरेको विभिन्न अध्यायनले देखाएकाले म्युजिक सिस्टम नराख्न निर्देशन दिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

सवारीसाधनमा बज्ने गीतसंगीत मात्र नभई अगाडी सिसामा सजाइएका झल्लर, लेसलगायतका सजावट सामग्री पनि दुर्घटनाको कारण भएको भन्दै विभागले यस्ता सामग्री पनि नराख्न निर्देशन दिएको उनले बताए।

महानिर्देशक हमालका अनुसार गाडीमा राखिएका सजावटका सामग्रीले चालकको ध्यान अनेत्रै पु(याउने अध्यायबाट देखिएकाले यस्तो नियम ल्याउनुपरेको हो। सार्वजनिक गाडीमा अनावश्यक फोटो, स्टिकर नटाँस्न र साहित्य नलेख्न पनि विभागले निर्देशन गरेको छ। यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित यातायात समितिका कार्यालय र ट्राफिक प्रहरीलाई पत्राचार गरिएको महानिर्देशक हमालले बताए।

विभागको निर्देशन कार्यान्वयन नगर्ने गाडी चालकलाई सवारी जाँचपास नदिने उनले बताए। पहिलो चरणमा यो नियम सार्वजनिक गाडीमा मात्रै लागु हुने विभागले बताएको छ। केही समयपछि निजी सवारीसाधानमा पनि उक्त नियम लागु गर्ने तयारी रहेको महानिर्देशक हमालले बताए।

यसका साथै चालकले जुत्ता नलगाएर सवारी चलाएमा पनि कारबाही गर्ने विभागले बताएको छ। चप्पल लगाएर गाडी चलाउँदा दुर्घटना हुने देखिएकाले अब अनिवार्य जुत्ता लगाउनु पर्ने महानिर्देशक हमालको भनाइ छ। विभागको निर्देशन कार्यान्वयन नगर्ने चालकलाई पाँच सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गरिने बताइएको छ।