जनकपुरमा मेयरका समर्थकसहित नगरप्रहरीद्वारा पत्रकारमाथि कुटपिट

जनकपुरमा मेयरका समर्थकसहित नगरप्रहरीद्वारा पत्रकारमाथि कुटपिट

जनकपुर : जनकपुरमा तीन जना पत्रकारमाथी मेयरका समर्थकहरुले कुटपिट गरेका छन् । मंगलबार जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धमा मेयर लालकिशोर साहसँग कुराकानी गर्न गएका पत्रकारहरुमाथि उनका समर्थकहरुले आक्रमण गरेका हुन् ।

जनकपुर उपमहानगरपालीकाका मेयरकै कार्यकक्षमा उनका समर्थकहरुले गरेको कुटपिटबाट पत्रकारहरु घाइते भएका छन् । कुटपिटबाट पत्रकारहरु अमरकान्त ठाकुर, सुभाष कर्ण र राजा झालाई चोट लागेको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले बताए ।

उपमहानगरपालिकामा प्रबक्ता नभएको र मेयरलाई जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धमा सोध्न खोज्दा पन्छिँदै आएको अध्यक्ष मिश्रले बताए । पत्रकारसँग भेट्नै नमानेपछि केही पत्रकार साथी यो बिषयमा मंगलबार बिहान १० बजे नै मेयरका कार्यकक्षमा पुगेका थिए । लामो समय मेयर साहले समय नदिएपछि पत्रकारहरु कार्यकक्षभित्रै गएर मन्दिरको जग्गा अतिक्रमणबारे धारणा माग्न खोज्दा उनका समर्थकहरुले हातपात गरेका हुन् ।

उनका अनुसार मेयरका समर्थकका साथै नगर प्रहरीले पत्रकारहरुमाथि हातपात गरेका हुन् ।यता मेयर साहले पत्रकारहरु कार्यकक्षमा आएर माइक मुखमै सटाएर प्रतिक्रिया लिन खोजेको र उनीहरुले आफैं हो–हल्ला गरेको आरोप लगाएका छन् । आफ्ना समर्थक र नगर प्रहरीले यसरी प्रतिक्रिया नलिन आग्रह मात्रै गरेको उनले दाबी गरेका छन् ।