अवैध रूपमा नेपाल भित्रने क्रममा पाँच भुटानी नागरीक पक्राउ

वीरगञ्ज : वीरगञ्ज नाका हुदै अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका पाँच भुटानी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतको बोधगयाबाट काठमाडौं जान लागेको बा ५ ख २३८८ नम्बरको नेपाल–भारतमैत्री बसमा सवार पाँच भुटानीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ४० यात्रुमध्ये पाँच जना भुटानी राहदानी बिनै नेपाल प्रवेश गर्न लागेको भेटिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

पक्राउ पर्नेमा ४० वर्षीय कुन्छोक तसोमो, भुटानी नागरिकहरू ६५ वर्षीया डोल्मा तामाङ, ४३ वर्षीय छोदेन तामाङ, १९ वर्षीया छुन्दु लह्मो र ७० वर्षीय ज्ञानबहादुर तामाङ रहेका छन्। उपरीक्षक राठौर अनुसार आवश्यक अनुसन्धान र कारबाही प्रक्रियाका लागि उनीहरूलाई अध्यागमन कार्यालय, वीरगञ्जमा बुझाइएको छ। यसअघि गत असोजमा पनि नेपाल–भारतमैत्री बसबाट ३ हजार थान अवैध लागूऔषध बरामद भएको थियो ।