गुल्मीमा सुनको लागी दुई बुहारीले गरे सासूको हत्या

गुल्मीमा सुनको लागी दुई बुहारीले गरे सासूको हत्या

गुल्मी : गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासूको हत्या गरेका छन् ।सुनका गहना लुट्ने योजनाका साथ उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर ७६ वर्षीया कौशीला बिकको हत्या गरेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर घलेले जानकारी दिए ।

गत पुस १७ गते गोरु फुकेको भन्दै कौशिलालाई गोठमा लगी दाउराले हानेर बेहोस बनाइ नाक र कानमा लगाएका गहना लुटेको प्रहरीले दाबी गरेको छ । तर, उनीहरुले गोरुले हानेर सासू घाइते भएको नाटक गरी छिमेकीलाई खबर गरेर उपचारको लागि गुल्मी अस्पताल पुर्‍‍याएका थिए ।

गम्भीर घाइते भएकी कौशीलालाई तम्घासमा उपचार सम्भव नभएपछि बुटलस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको गत पुष १९ गते मृत्यु भएको हो । मृतक कौशीलाको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएको डीएसपी घलले बताएका छन् ।

श्रीमान विदेशमा रहेकाले बुहारी देवी र लक्ष्मी सासूसँगै बस्दै आएकी थिइन् ।मृतक कौशीलाका श्रीमान घरमा नभएको बेला मौका छोपी देवी र लक्ष्मीले सासूलाई गोठमा लगेर दाउराले हानेर बेहोस बनाई गहना लुटेका थिए । हत्यारा दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।