फरार रहेका अपराधीहरु आफै अदालतमा हाजिर गर्न पुग्नेको संख्या बढ्दै

निजगढ : बारा प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्न थालेपछि फरार अभियुक्त आफैँ अदालतमा हाजिर हुन थालेका छन । प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरु आफैँ अदालतमा हाजिर हुन थालेका हुन् ।

फैसला कार्यान्वयनका लागि अदालतको निर्देशनमा प्रहरीले फरार रहेका अभियुक्तलाई धमाधम पक्राउ गर्न थालेको छ । फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले चासो देखाएपछि विगत लामो समयदेखि फरार रहेका पनि केही पक्राउ परेका छन् भने केही अदालतमा आफैँ हाजिर हुन पुगेका छन् ।

अदालतले कसुरबमोजिम कारागार पठाउने र जरिवाना असुली गर्ने गरेको छ । प्रहरीले पक्राउ गर्दा प्रतिष्ठा गुम्ने डरले पनि उनीहरु आफैँ अदालतमा आउने र कैद सजाय तथा जरिवाना भुक्तान गर्ने गरेकोे अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए ।गम्भीर प्रकृतिका अपराधदेखि चोरी–तस्करी तथा सामान्य लेनदेनका दोषी हरेक दिन पाँच÷सातजना आफैँ अदालत आउने गरेका ज्ञवालीले जानकारी दिए ।

प्रहरीले विगतमा दोषी ठहरिएका कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, राजनैतिक दलका नेता तथा कार्यकर्तालाई पक्राउ गरी अदालत ल्याउन थालेपछि अरू त्यस्ता व्यक्तिसमेत आफैँ अदालत आएर कैद सजाय र जरिवाना भुक्तान गर्न निवेदन दिइरहेका स्रेस्तेदार ज्ञवालीले बताएका छन् । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले तीन महिनाको अवधिमा करिब १५० भन्दा बढीलाई पक्राउ गरिसकेको छ भने प्रहरीले पक्राउ गर्ने डरले कतिपय मानिस आफैँ अदालतमा आएर निवेदन दिने तथा हाजिर गर्ने गरेका अदालतले जनाएको छ ।