हेटौंडा उपमहानगरपालिकाद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ३० लाख सहयोग

हेटौंडा उपमहानगरपालिकाद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ३० लाख सहयोग

मकवानपुर : हेटौंडा उपमहानगरपालिकाले चितवनको भरतपुरमा धुर्मुस(सुन्तली फाउन्डेशनले निर्माण गर्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । आईबार निर्माणाधिन रङ्गशालाको अवलोकनपछि हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहयोगको घोषणा गरेको हो ।

धुर्मुस सुन्तलीको प्रयासमा अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला निर्माण हुन लागेकाले स्थानीय सरकारको हैसियतमा सहयोग गर्न लागेको मेयर महतले बताए । रङ्गशाला निर्माण हुँदा हेटौंडालाई पनि फाइदा हुने भएकाले सहयोग गर्न लागेको उनले बताएका छन् । रंगशाला निर्माणका लागि दिने भनेर घोषणा गरेको रकम केही दिनमा नै हस्तान्तरण गर्ने उनले जानकारी गराए।

चितवनको भरतपुर महानगरपालिकास्थित कृषि तथा वन विश्वविद्यालय परिसर भित्रको २० बिघा ६ कट्ठा क्षेत्रफलमा २५ हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरीदै छ । मौलिकतासहित निर्माण हुन लागेको रङ्गशाला स्तुपाकारको हुनेछ भने क्रिकेट मैदान फुलेको कमल फूल आकारको हुनेछ ।

सो रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, तेक्वान्दो, डन्डीबियो, स्विमिङलगायतका खेल खेल्न सकिने फाउण्डेसनले जनाएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइ निर्माण हुने रङ्गशालाको लागत ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।