नेकपा सचिवालयको निर्णयविरुद्ध माइतीघरमा विरोध

नेकपा सचिवालयको निर्णयविरुद्ध  माइतीघरमा विरोध

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम वाग्मती राखेको विरोधमा माइतीघरमा विरोध प्रदर्शन भएको छ।

वाग्मती नामले प्रदेश ३ को पहिचानलाई सम्बोधन नगर्ने भन्दै सोमबार विभिन्न नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघ लगायतले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन्। उनीहरुले प्रदेश नम्बर ३ को नाम वाग्मती राखिनुले सरकार पञ्चायतकालीन युग तर्फ अघि बढिरहेको भन्दै विरोध गरेका हुन्। प्रदेश नम्बर ३ को नाम ऐतिहासिक सांस्कृति पहिचानलाई समेटने गरी नेवास् ताम्सालिङ राख्न उनीहरुले माग गरेका छन्।

प्रदर्शनकारीले नेकपा सचिवालयले प्रदेशको अधिकार मिचेको भन्दै वाग्मती प्रदेश आफूहरुलाई मान्य नहुने बताए। यता, केही दिनमा प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहेको छ। पुस २२ गतेका लागि बैठक बोलाइएको भनिएता पनि नेकपामा प्रदेशको नाम र राजधानीको विषयमा सहमति हुन नसक्दा प्रदेश सभाको बैठक अन्यौलमा परेको बताइएको छ।

नेकपा सचिवालयले प्रदेश ३ को राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको थियो। तर प्रदेश सांसदहरुले भने केन्द्रले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। नेकपाकै प्रदेश सांसदहरु वाग्मती नाम र हेटौंडालाई राजधानी मान्न तयार छैनन्। उपत्यकाका सांसदहरू प्रदेश ३ को नाम नेपालमण्डल राख्नु पर्ने अडानमा छन् । उनीहरुले संसदीय दलको बैठकमा नै केन्द्रले प्रस्ताव गरेको नामप्रति असन्तुष्टि जनाएका छन्। उनीहरुले प्रक्रिया पुर्‍याएर प्रदेशबाट मतदान भए जे पनि हुन सक्ने बताउँदै आएका छन्।