चितुवाको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई राहत

चितुवाको आक्रमणबाट ज्यान गुमाउनेका परिवारलाई राहत

तनहुँ : तनहुँ जिल्लाको भानु नगरपालिकास्थित चितुवाको आक्रमणबाट ज्यान गुमाउने दुई बालकका परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका तीन वर्षीय आशिष बानियाँ र –२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई वन कार्यालयले जनही रु नौ लाख ५० हजार उपलब्ध गराएको हो । कार्यालयले घटनालगत्तै किरिया खर्चबापत रु ५०-५० हजार पीडित परिवारलाई प्रदान गरेको थियो । बानियाँको गत असोज २१ गते र रोकाको कात्तिक ११ गते चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वन कार्यालयका प्रमुख केदार बरालले राहत रकम सोमबार बानियाँका बुबा विष्णुबहादुर र रोकाका आमा सिर्जनालाई प्रदान गरेका छन् । नगरपालिकाका प्रमुख गौलीले राहत रकमले पीडित परिवारलाई केही सहयोग पुग्ने बताए ।

डेढ वर्षमा भानुमा मात्रै ६ बालबालिकाको मृत्यु भइसकेकाले अझै पनि सतर्कता अपनाउन आवश्यक रहेको उनको भनाइ थियो । डिभिजन वन प्रमुख बरालले विपद्को अवस्थामा राज्य जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको जानकारी दिए । वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तु क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परि मानिसको मृत्यु भएमा अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने उल्लेख गरीएको छ ।

वन कार्यालय तनहुँले भानुमा चितुवाको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहतस्वरुप रु १०÷१० लाख प्रदान गरिसकेको छ । त्यस्तै आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर र पुस १४ गते चितुवाको आक्रमणबाट मृत्यु भएका शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका रविन नेपालीको परिवारलाई तत्कालै रु ५० हजार राहत उपलब्ध गराइएको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिएका छन् ।