कर्णाली प्रदेशमा छाउगोठ भत्काउन सादा पोशाकमा प्रहरी परिचालन

कर्णाली प्रदेशमा छाउगोठ भत्काउन सादा पोशाकमा प्रहरी परिचालन

जुम्ला : कर्णाली प्रदेशमा छाउगोठ भत्काउन सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। कर्णालीका कालिकोट, जुम्ला र मुगुस्थित जिल्ला प्रशासन कार्यालयहरूले छाउगोठ भत्काउन सादा पोशाकमा प्रहरी परिचालन गरेको हो।

कालिकोटका प्रहरी प्रमुख एवं डिएसपी श्यामबाबु ओलियाले छाउगोठको अवस्था बुझ्न गाउँगाउँमा प्रहरी परिचालन गरिएको बताए। ‘छाउगोठले महिलाको स्वास्थ्यमा गम्भीर असर पारेको छ।गाउँमा परिचालन गरिएका प्रहरीलाई छाउगोठ भेटिए भत्काउने निर्देशन दिइएको उनले बताएका छन्।

कालिकोटको नरहरिनाथ नगरपालिकामा १५ वटा छाउगोठ भत्काएको प्रहरीले जनाएको छ। अभियानका क्रममा छाउगोठमा बसेको भेटिए कानुनी कारबाही गर्ने प्रहरी प्रशासनले चेतावनी दिएको छ। कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले मुलुकी अपराधसंहिता २०७४ ले परिभाषित गरेको सामाजिक विभेद, भेदभाव तथा अपमानजनक व्यवहारविरुद्ध कानुनी व्यवस्था सम्बन्धमा आमनागरिकमा सचेतनामूलक अभियान सञ्चालन गरिने जानकारी दिए।

जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे छाउपडी प्रथाका नाममा महिलामा अत्याचार भएकाले यसको उन्मूलनका लागि कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले छाउपडी प्रथा र अन्य भेदभाव तथा अपमानजनक व्यवहारविरूद्ध स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्। उनले जुम्लामा छाउगोठमा महिला बसेको नभेटिएको जानकारी दिइन्।

धर्मका नाममा छाउपडी प्रथाले प्रश्रय पाएको उनको भनाइ छ।कर्णालीका ग्रामीण क्षेत्रका महिला महिनावारी हुँदा घरभित्र बसे देउता रिसाउने अन्धविश्वास छ। यस्तै महिनावारी भएका बेला दूध–दही खान नहुने र खाएमा गाई–भैंसीले दूध नदिने मान्यता छ। यस क्षेत्रमा महिला महिनावारी भएका बेला सातदेखि नौ दिनसम्म छाउगोठमा बस्ने गरेका छन्। कतिपय ठाउँमा भने गाई–भैंसी बस्ने गोठमा महिला बस्ने गरेका छन्। पूर्णिमा र पर्वका बेला भने खुला आकाशमा बस्ने गरेका छन्।