सुर्खेतमा जिल्ला प्रशासनले भत्कायो तीन दिनको अवधिमा ३०० छाउगोठ

सुर्खेतमा जिल्ला प्रशासनले भत्कायो तीन दिनको अवधिमा ३०० छाउगोठ

सुर्खेत : जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सुर्खेतमा ३०० छाउगोठ भत्काइएको छ । सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको टोलीले तीन दिनको अवधिमा ३०० छाउगोठ भत्काएको हो ।

जिल्ला प्रशासन कार्यालयले पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिकामा छाउगोठ भत्काउने अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ । यहाँका यी तीन स्थानीय तहमा छाउपडी कुप्रथा व्याप्त रहेको छ ।

यसअघि विभिन्न गैरसरकारी संस्थाको पहलमा छाउपडीमुक्त घोषणा गरिए पनि स्थानीयले पुनः छाउगोठ निर्माण गरी प्रयोगमा ल्याएका हुन् । पछिल्लो समय छाउगोठमा महिलाको मृत्यु हुने क्रम बढेपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई त्यस्ता छाउगोठ हटाउन कडा निर्देशन दिएको हो ।

सुर्खेतमा करिब एक हजार ८०० छाउगोठ रहेको बताइएको छ । यतिबेला सुरक्षाकर्मीसहित जिल्ला प्रशासन नेतृत्वको तीन टोली गाउँबस्तीमा खटिएको छ । प्रजिअ अधिकारीले छाउगोठ हटाउने अभियानमा स्थानीय जनप्रतिनिधि, महिला अगुवाहरुको समेत सक्रिय सहभागिता रहेको बताए । उनका अनुसार स्थानीय तहमा छाउगोठ हटाउन समिति गठन गरिएको छ । मुलुकी अपराधसंहितामा छाउपडीलाई अपराधका रुपमा परिभाषित गर्दै छाउगोठमा बस्ने र बस्न पठाउने दुवैलाई तीन महिना कैद र तीन हजार जरिवानाको व्यवस्था गरीएको छ ।