घाँटी रेटेर दाइको हत्या गर्ने भाइ पक्राउ

घाँटी रेटेर दाइको हत्या गर्ने भाइ पक्राउ

रोल्पा । रोल्पामा एक भाइले आफ्नै दाजुको घाँटी रेटेर हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीले बताए ।

‘हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौं, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्रयाक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो,’ सुवेदीले भने । उनका अनुसार अमराज आफैंले पनि हत्या गरेको स्वीकारिसकेका छन् ।

डीएसपी सुवेदीले भने, ‘राति एक्लै सुतिरहेको कोठामै पुगी आफ्नै कान्छो भाइले दाइको हत्या गरेको प्रहरी जानकारी दिएको छ ।’ 

पारिवारिक विवादका कारण हत्या गरेकोे बताइएको छ । कर्तव्य ज्यान मुद्दा शीर्षकमा हत्या अभियोगमा अनुसन्धान गरी प्रक्रिया अगाडि बढ्ने डीएसपी सुवेदीले बताए । मृतक जालझेल गर्ने खालको नभएर इमान्दार तथा सोझो भएको समेत स्थानीयले बताएका छन् ।

मृतककी पत्नीको पहिले नै मृत्यु भइसकेको छ । २ छोरा विदेश गएको र जेठो छोराको बुहारी र छोरी दाङ बस्दै आएका बताइएको छ । मृतक बुढाको शवलाई रोल्पा अस्पताल रेउघामा परीक्षणका लागि लगिएको छ । 
रासस