रूपन्देहीमा गृहकार्य नगरेको भन्दै शिक्षकले कुटे विद्यार्थी,प्रहरीले लिन मानेन उजुरी

रूपन्देहीमा गृहकार्य नगरेको भन्दै शिक्षकले कुटे विद्यार्थी,प्रहरीले लिन मानेन उजुरी

बुटवल : रूपन्देहीको एक बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थी शिक्षकबाट निर्घात कुटिएका छन् । कुटाइबाट उनको आँखामा चोट लागेको छ । सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनियालाई गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईले निर्घात कुटेका हुन् ।

कुटाइबाट १० वर्षीय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । धुनियाका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको बताए । तर, ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गरेका छन्।

शिक्षकबाट आफ्नो सन्तान निर्घात कुटिए पनि प्रहरीले उजुरी लिन नमानेको गुनासो परिवारका सदस्यले गरेका छन् । तौफिक कुटिएपछि संलग्नमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगे पनि दर्ता नभएको परिवारको भनाइ छ । उता मर्चवारका कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालले प्रक्रिया नपुर्‍याइ उजुरी आएकाले दर्ता नगरिएको बताए । घाइतेको उपचारमा ध्यान दिन र प्रक्रिया पुर्‍याएर उजुरी दिन आफूले आग्रह गरेको उनले जानकारी दिएका छन् ।