पाँचथरबाट भ्रमण वर्षको प्रचारमा निस्केका युवा टोली खोटाङ दिक्तेल पुगे

पाँचथरबाट भ्रमण वर्षको प्रचारमा निस्केका युवा टोली खोटाङ दिक्तेल पुगे

खोटाङ : नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि प्रचारात्मक अभियानमा निस्केका पाँचथरका युवाको टोली खोटाङ पुगेको छ। भ्रमण वर्षको उद्घाटनकै अवसर पारेर बुधबार सुरु गरिएको नेकपा, कांग्रेस, राप्रपालगायतका दलमा आवद्ध युवा तथा पत्रकारको टोली शुक्रबार दिक्तेल पुगेका हुन्।

पाँचथरको चिवाभञ्याङदेखि बैतडीको झुलाघाट जोड्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपासका धार्मिक तथा पर्यटकीयस्थलको घुमफिर एवं प्रचार–प्रसार गर्दै भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि मोटरसाइकलबाट नेपाल यात्रा सुरु गरिएको टोलीमा संलग्न नेकपाका प्रदेश कमिटि सदस्य हर्क नेम्बाङ मिक्सोले बताएका छन्।

नेपाल यात्राका क्रममा मध्यपहाडी लोकमार्गले छोएका बस्तीका सामाजिक, आर्थिक, पर्यटकीय तथा भौगोलिक अवस्थाको अध्ययन, छलफल तथा अन्तरक्रीया गर्दै भ्रमण सुरु गरिएको टोलीले जनाएको छ। ‘मध्यपहाडी आसपासका आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय, शैक्षिकलगायतका क्षेत्रको प्रचार–प्रसार गर्दै भ्रमण वर्षलाई सफल पार्नु नै सो यात्राको मुख्य लक्ष्य रहेको नेम्बाङले बताए ।

६ वटा मोटरसाइकल लिएर यात्रामा निस्किएका ११ जनाको टोलीले मध्यपहाडी आसपासका गाउँपालिका तथा नगरपालिकाका प्रमुखरउपप्रमुखलगायतसँग भेटघाट गर्दै पर्यटकीयस्थलको बारेमा जानकारी लिइरहेको जनाएको छ।

टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेवी राई लगायतसँग भेटघाट गरेर नगरपालिकाभित्र रहेका पर्यटकीयस्थलहरुको बारेमा जानकारी लिएका छन् । नेपाल यात्राका क्रममा प्रदेश नम्बर १ भित्रका गुमनामको अवस्थामा रहेका पर्यटकीयस्थलहरुको जानकारी लिएर प्रचार–प्रसार गर्ने र भ्रमणका लागि निम्तो दिइने तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए।