बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिवविहीन रहेका छन् । नगरपालिका स्थापना भएदेखि नै वडाहरुमा सचिवको अभाव भएको हो । नगर उपप्रमुख जानकी बमले जानकारी दिएकी छन् । दशवटै वडामा सचिवको काम प्राविधिक सहायकहरुले गर्नु परिरहेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताए ।
वडाका अधिकांश काम नगरपालिकाबाटै हुने भएकाले नागरिकले नगरपालिका धाउनुपर्ने बाध्यता रहेको छ । वडामा सचिव नहुँदा नागरिकलाई सास्ती हुने गरेको स्थानीयवासीले बताएका छन् ।स्थानीय तहमा जनप्रतिनिधि आएको अढाई वर्ष बढी भइसकेको भए पनि अझै कर्मचारीको पदपूर्ति हुन सकेको छैन । कर्मचारीको अभावमा वडा तहबाट पाइने सेवा प्रभावकारी नभएको भन्दै नागरिकले गुनासो गरेका छन् । कर्मचारी समायोजनपश्चात् जिल्लामा कर्मचारीको अभाव बढ्दै गएको हो ।