दाङमा दुई करोड लगानीमा सडकमा बत्ती जडान सुरु

दाङमा दुई करोड लगानीमा सडकमा बत्ती जडान सुरु

दाङ : दाङको घोराही बजार क्षेत्रको मुख्य सडकमा सडकबत्ती जडान शुरु भएको छ । घोराही उपमहानगरपालिकाले बजारका तीन स्थानमा पहिलो चरणअन्तर्गत ७१ वटा विद्युतीय खम्बा जडान शुरु गरेकोे हो ।

घोराही बजारको कुटवालखोलादेखि रतनपुरचोक, नेपाल बैंक लिमिटेडदेखि शहीदगेट र तुलसीपुरचोकदेखि दामोदर चोकसम्मको सडकको बीच भागमा ७१ वटा विद्युतीय सडक बत्ती जडानको काम शुरु गरिएको छ । उपमहानगरले सडक बत्ती जडानको जिम्मा एपेक्स नेपाललाई दिएको छ ।

विज्ञापन सामग्री राख्ने गरी घोराही उपमहानगरपालिका र एपेक्स नेपालबीच विद्युतीय सडक खम्बा बत्तीसहित यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण तथा जडान गर्ने सम्झौता भएको छ । एपेक्स नेपालले दुई करोडको लगानीमा विज्ञापन सामग्री राख्ने गरी विद्युतीय सडक बत्ती, यात्रु प्रतीक्षालय र ट्राफिक आइल्याण्ड निर्माण गर्ने बताएको छ ।

एपेक्स नेपालका प्राविधिक प्रमुख अनन्त न्यौपानेले पहिलो चरणअन्तर्गत विद्युतीय सडक बत्ती जडानको काम शुरु गरिएको बताए । कम्पनीले सम्झौताअनुरुप दोस्रो चरणअन्तर्गत घोराहीको विभिन्न स्थानमा गरी १५ यात्रु प्रतीक्षालय र पाँच ठाउँमा ट्राफिक आइल्याण्ड निर्माण गर्ने बताइएको छ ।