२ किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल पक्राउ परेका हुन ।

यूएईबाट आएका उनीहरुले मलद्वारमा लुकाएर सुन ल्याएको प्रमुख भन्सार अधिकृत विष्णुराज ढकालले बताए । यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित महाराष्ट्रकै हरिराम नेपाली पक्राउ परेका थिए ।

सरकारले गठन गरेको साढे ३३ किलो सुन तस्करी प्रकरणको छानविन टोलीको अनुसन्धानपछि विमानस्थलबाट हुने सुन तस्करी ठप्प भएको दाबी गरिएको थियो । तर, तस्करी गर्ने समूहले विभिन्न शैली अपनाएर सुन भित्र्याउने गरेका छन् । तस्करी रोक्न अलम्बन गर्नुपर्ने विधिबारे सुझावसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको प्रतिवेदन पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।