विराटनगरमा १० रुपैयाँमै खानासेट : दैनिक ७ सयदेखि एक हजार जनासम्मले खाने

विराटनगरमा १० रुपैयाँमै खानासेट : दैनिक ७ सयदेखि एक हजार जनासम्मले खाने

विराटनगर : विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई १० रुपैयामा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो ।

सुरुमा काली मन्दिर अगाडिबाट सुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताए । बासमती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ । एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने छ ।

कसैले भिखारी वा गरिब मानिसलाई खाना खुवाउन चाहेमा उसले जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ । अभियान सुरु भएको आज १० दिन भएको भन्दै धाडेवालले दैनिक ७ सयदेखि एक हजार जनासम्मले खाना खाने गरेको बताए । क्याटरिङ सहयोगी तिरुपति क्याटरिङमार्फत खाना खुवाउने अभियान स्थानीय नन्दु तपडिया, युवा उमेश यादव र मोहम्मद कादिरले पनि सहयोग गरिरहेका छन् । “दिनको करिब रु १७ हजार खर्च हुने अभियानकर्मी धाडेवालले बताए ।

यो अभियान अब सधैं रहने र यसका लागि सहयोगीले नाम लेखाइसकेका छन् ।” एक जना सहयोगीले एक दिनको जिम्मा लिएका छन् । यसबाट यो अभियान सञ्चालन गर्न कुनै कठिनाइ नहुने धाडेवालको जिकिर गरेका छन् ।

“वर्षमा ३६५ दिनका लागि ३६५ जना नै सहयोग गर्न तयार रहेका छन् अब कसैले सहयोग गर्न चाहेमा अर्को वर्षका लागि ती मानिसको नाम दर्ता हुनेछ र सोहीअनुसार अभियानलाई कायम राखिने उनले बताए । सस्तोमा खाना खुवाउन सुरु गरेपछि विपन्न मानिस मात्र होइन सम्पन्न मानिसले पनि खाना खाने गरेको र कसैले आफूले खाएको तोकिएको रकमभन्दा बढी दिन खोजेमा सहयोगी पेटिकामा राख्ने गरिएको उनको भनाइ छ ।