पोखरामा बसले जीप र मोटरसाइकललाइ ठक्कर दिदाँ , दुई चालकको मृत्यु

पोखरामा बसले जीप र मोटरसाइकललाइ ठक्कर दिदाँ , दुई चालकको मृत्यु

कास्की : पोखरामा सवारी दुर्घट्ना हुँदा दुई जनाको ज्यान गएको छ। मंगलबार राति पौने तीन बजेतिर पोखराको पृथ्वीचोकबाट चाउथे तर्फ जाँदै गर्दा एकआपसमा ठोक्किएका मोटरसाइकल र जीपलाई विपरित दिशाबाट आईरहेको बसले पुनस् ठक्कर दिँदा मोटरसाइकल चालक र जीप चालकको मुत्यु भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा ग १३ प ९५३७ नम्बरको मोटरसाइकल चालक रोनस गुरुङ र ग २ च २७२६ नम्बरको जीप चालक सरोज लामाको ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेका दुई सवारीसाधनलाई ठक्कर दिने ग १ ख ९४०५ नम्बरको बस काठमाण्डौंबाट बाग्लुङतर्फ जाँदै गरेको खुलेको छ।

बसका चालक बाग्लुङका सन्दीप खड्कालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए। मोटरसाइकल चालक तनहुँ थप्रेकका १९ बर्षीय गुरुङ पोखरा चाउथेमा बसोबास गर्ने गर्थे। जीप चालक ३६ बर्षीय लामा पोखरा–२९ भण्डारढिक सैनिक बस्तीमा बस्दै आएका थिए। दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको शवलाई हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।

दुर्घटनामा परि गम्भीर घाइते भएका गुरूङ र लामालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो। लगत्तै अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो। सोही जीपमा सवार पोखरा–२९ का ३४ बर्षीय प्रेम परियार गम्भीर घाइते भएका छन्। टाउको र छातीमा गहिरो चोट लागेका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेका छ।