हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ । केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ ।
सोमबार राति रुघाखोकीले रायागाउँकी ३६ वर्षीया चुन्दा बुढाको मृत्यु भएको स्थानीय पूर्णबहादुर रोकायाले जानकारी दिएका छन् ।उनले मृतकका श्रीमान् घरमा नभएको बताए । मृतक बुढाका एक छोरी, दुई छोरा गरी तीन नाबालक रहेका छन् । मृतक बुढाको हिजै हिन्दू परम्पराअनुसार दाहसंस्कारसमेत गरिएको छ ।
रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको राया स्वास्थ्यचौकीमा दैनिक १५ देखि २० जना उपचारका लागि आउने गरेको अहेव वीरसिंह रावलले जानकारी दिए । रावल आफैँ एक हप्तादेखि गाउँमा फैलिएको मौसमी रुघाखोकीले बिरामी भएर स्वास्थ्यचौकीमा जान सकेको छैनन् । राया स्वास्थ्यचौकीमा यतिबेला उपचार गराउन ज्वरो आउने, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउनेजस्ता रोगका बिरामी आउने गरेको उहाँले बताउनुभयो ।
उनका अनुसार अहिले राया स्वास्थ्यचौकीमा मौज्दात रहेको औषधि पनि सकिन थालेको छ ।हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातै गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मङ्सिर महिनाको अन्तिम साता परेको भारी हिमपातले बिरामीको सङ्ख्या अझ बढ्दै गएको छ ।