बर्दियामा ट्रक दुर्घटना हुदाँ तीन जनाको मृत्यु

बर्दियामा ट्रक दुर्घटना हुदाँ तीन जनाको मृत्यु

बर्दिया : पूर्व(पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।

ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि ६किलोमिटर पश्चिमतर्फ निकुञ्जभित्र पर्ने राजमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना महिला र एक जना पुरुषको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

भैरहवाबाट फलामे छड लोड गरी धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई जना महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

फलामे छड बोकेको ट्रकमा च्यापिएकाको शव जेसीबीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्णबहादुर चौधरी घाइते भएका छन् ।बाँकेको कुसुमबाट आफन्तको मृत्यु भएकाले कर्णाली चिसापानीसम्म लगिदिन आग्रह गरेपछि दुई जना महिला ट्रकमा चढेको ट्कका चालक चौधरीले बताएको प्रहरीले जनाएको छ ।