काठमाडौं । मानव तस्करहरुले यौन शोषणका लागि नेपाली किशोरीलाई दिल्लीका निजी अपार्टमेन्टमा बिक्री गर्न थालेको पाइएको छ । पहिले दिल्लीको कोठीमा बेचविखन हुने गरेकामा अहिले दिल्लीका निजी अपार्टमेन्टहरुमा पनि बिक्री गरेको पाइएको माइती नेपालले जनाएको छ ।
मंगलबार माइती नेपालले एक विज्ञप्ति जारी गरी मानव बेचबिखन र ओसारपसारले नयाँ रुप लिन थालेको बताएको हो ।‘भारतका विभिन्न कोठीहरुमा यौन शोषणका लागि नेपाली किशोरीहरुको बेचविखन हुने गरेकामा हाल आएर निजी घर तथा अपार्टमेन्टहरु समेतलाई भाडामा लिई यौन व्यवसाय सञ्चालन गर्ने नौलो तरिका दलालहरुले अपनाउन थालेका छन्’ माइती नेपालको विज्ञप्तिमा भनिएको छ ।
मानव तस्करहरुले अपनाउने नयाँ नयाँ तरिकाका कारण हराएका महिला तथा बालबालिकाको अवस्था पहिचान तथा खोजतलास र उद्धारका लागि झनै जटिल अवस्था सिर्जना भएको माइती नेपालले जानकारी दिएको छ । ‘आधुनिकताको नाममा विलासिताप्रतिको बढ्दो आकर्षण, सामाजिक सञ्जाल फेसबुक, इमो, ह्वाट्सएप, भाइबर, मेसेन्जरलगायत दुरुपयोग गरी मानव दलालहरुले आफ्नो सम्पर्क संयन्त्रलाई दिनानुदिन सहज बनाएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
माइती नेपालले सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म नेपाल भारत सीमानाबाट २ हजार २ सय ८५ जनाको उद्धार गरेको जनाएको छ । त्यस्तै बेचबिखनमा परी श्रम तथा यौन शोषणमा परेका ३ सय २२ जनालाई भारतबाट, खाडीबाट १६ जना, आन्तरिक बेचविखनमा परेका ४४ जनाको उद्धार गरिएको अध्यक्ष विश्वराम खड्काले जानकारी दिएका छन् ।