भ्रमण वर्ष २०२० : उद्धाटनकालागि मात्र ५ करोड खर्च

भ्रमण वर्ष २०२० : उद्धाटनकालागि  मात्र ५ करोड खर्च

काठमाडौँ : भिजिट नेपाल २०२० उद्घाटन भव्य हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा १ जनवरी मा काठमाडौँको दशरथ रंगाशालामा राष्ट्रपतिले उद्घाटन गरेसँगै भ्रमण वर्ष शुभारम्भ हुने छ । प्रदेश स्तरमा समेत सँगसँगै सुरु हुने कार्यक्रमको तयारी पुरा भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए ।

आज नेपाल भ्रमण वर्ष २०२० को तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन् । उनले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्न समेत आग्रह गरे । सरकारले यस भ्रमण वर्ष उद्घाटन समारोहका लागि मात्र ५ करोड ३ लाख ८५ हजार रुपैयाँ छुट्ट्याएको छ । समितिले २ करोड रुपैयाँ छुट्ट्याएकोमा त्यतिले बजेटले नपुग्ने भएपछि बजेट थप्दै ५ करोड ३ लाख ८५ हजार रुपैयाँ पुर्‍याइएको हो ।

२० लाख पर्यटक भित्र्याउने गरी तयारी गरिएको ‘भ्रमण वर्ष’को उद्घाटन राष्ट्रपति विद्या भण्डारीले गर्दैछन् । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा विविध सांस्कृतिक झाँकी प्रदर्शनसहित नेपाली कला, संस्कृति, भेषभूषा बाजागाजा, नित्यसँगै वृहत् साङ्लो मार्च पास गरिनेछ ।

‘नेपाल भ्रमण वर्ष’को औपचारिक उद्घाटन कार्यक्रममा करिब २४ हजारलाई निम्तो पठाइएको जनाइएको छ । भ्रमण वर्षमा नेपालको मौलिक कला र संस्कृति प्रवर्धनलाई जोड दिइने मन्त्री भट्टराईले बताए ।