खोटाङमा सामाजिक सुरक्षाभत्ता अनियमितताको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

खोटाङमा सामाजिक सुरक्षाभत्ता अनियमितताको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

खोटाङ : खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमितताको विषयमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

बराहपोखरी गाउँपालिकाका चारवटा वडामा भएको सामाजिक सुरक्षाभत्ता अनियमितताको अध्ययन गर्न बनेको छानबिन समितिले अन्तिम प्रतिवेदन बुझाए पनि गाउँपालिकाले हालसम्म त्यसलाई सार्वजनिक नगरेको भन्दै कांंग्रेसले बिरोध जनाएको हो।

नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कार्यसमितिका सभापति खिलाराज राई (दीपक) ले गाउँपालिका अध्यक्ष सालिकराम बन्जरालाई लिखित निवेदन पेस गर्दै सामाजिक सुरक्षा भत्ता अनियमितताका विषयमा अध्ययनसम्बन्धी छानबिन प्रतिवेदनको सत्यतथ्य सार्वजनिक गर्न र दोषी ठहरिए कानुनी दायरामा ल्याउन माग गरेका छन्। पार्टीकै लेटरप्याडमा लेखिएको निवेदनमा सामाजिक सुरक्षाभत्ता अनियमिततामा संलग्न जोकोहीलाई उन्मुक्ति नदिन आग्रह गरिएको छ।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा मृत्यु भइसकेका र बसाइँ सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेपछि गाउँपालिकाका उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा गठित छानबिन समितिले मंसिर १७ गते अन्तिम प्रतिवेदन बुझाएको थियो।

छानबिन समितिले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी, वडा २ सुन्तले, वडा ३ साउनेचौर र वडा ४ फाक्टाङमा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको प्रतिवेदन पेस गरेको छ। गाउँपालिकालाई बुझाइएको प्रतिवेदनमा बराहपोखरी र साउनेचौरमा सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता देखिएको उल्लेख गरीएको छ।

स्थलगत अध्ययन र निरीक्षणका क्रममा सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको पाइएपछि स्पष्टीकरण सोधिएका चार वडाले मंसिर १६ गते लिखित स्पष्टीकरण बुझाएको छानबिन समितिमा संलग्न किसन राईले बताए। छानबिन समितिले पहिल्यैदेखि सामाजिक सुरक्षाभत्तामा अनियमितता हुँदै आएको पाइएको जनाएको छ। छानबिनका क्रममा बराहपोखरी–५ पौवासेरा र वडा ६ मौवाबोटेमा भने सामाजिक सुरक्षाभत्ता दुरुपयोग नभएको पाइएको छ।

मृत्यु, बसाइँसराइलगायत तथ्यांकको काम चुस्तदुरुस्त नराखी वडा कार्यालय बराहपोखरीले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षाभत्ता निकासा गरिरहेको भन्दै छानबिनका लागि कात्तिक १ गते गाउँपालिकामा उजुरी परेको थियो। ५० जनाभन्दा बढीको हस्ताक्षर भएको उजुरीमा वडाका मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाइँ सरिसकेका तीनजनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको उल्लेख छ।

यस्तै चारजनाको नाममा दोहोरो सुविधा देखिएको र एकजना हुँदै नभएका अपांगता भएका व्यक्तिका नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पाइएको स्थानीय विदुर श्रेष्ठले बताए।