धर्म प्रचारको स्वीकृति दिने कर्मचारीमाथि छानबिन गर्न आयोगको निर्देशन

काठमाडौं : सामाजिक सेवाका नाउँमा आएका केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले धर्मप्रचारको काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता संस्थाको कार्यक्रम स्वीकृत गर्ने कर्मचारीमाथि छानबिन गर्न निर्देशन दिएको छ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै संविधान र देशको कानुन प्रतिकूल हुनेगरी आइएनजिओको धार्मिक कार्यक्रम स्वीकृत गर्ने समाज कल्याण परिषद्का कर्मचारीमाथि छानबिन गर्न निर्देशन दिएको हो। समाज सेवा गर्ने उद्देश्यले नेपाल आएका भनिएका आइएनजिओले परिषद्कै कर्मचारीसँगको मिलेमतोमा धर्मप्रचारका कार्यक्रम स्वीकृत गरी काम गरिरहेको भन्दै अख्तियारले कोषका सम्बद्ध कर्मचारीमाथि छानबिन गर्न निर्देशन दिएको हो।

आयोगको पत्रसँगै प्रधानमन्त्री कार्यालयले धर्म प्रचार र सरकारले लिएको एक चीन नीतिविपरीत काम गर्ने आइएनजिओको कार्यक्रम स्वीकृत गर्ने कर्मचारीमाथि छानबिन गर्ने तयारी अघि बढाइएको छ। ‘परिषद्का कर्मचारीसँगको मिलेमतोमै परिषद्बाट वार्षिक कार्यक्रम स्वीकृत गराएरै आइएनजिओले धर्म प्रचार र एक चीन नीतिविपरीतका कार्यक्रम सञ्चालन गरिरहेको पाइएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अख्तियारको पत्रलगत्तै कोषको कामकारबाहीका विषयमा समिति गठन गरेर छानबिन गर्ने तयारी सुरु भइसकेको छ। समितिलाई १० वर्षमा परिषद्ले सम्झौता गरेका आइएनजिओका कार्यक्रम, स्वीकृत गर्ने जिम्मेवारी पाएका सम्बद्ध शाखाका कर्मचारीमाथि समेत छानबिन हुनेछ।

प्रधानमन्त्री कार्यालयले सम्बद्ध शाखामा कार्यरत कर्मचारीको सम्पत्ति समेत छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई समेत निर्देशन दिने तयारी गरिररहेको छ। स्रोतका अनुसार परिषद्को अन्तर्राष्ट्रिय सम्पर्क, अनुगमन शाखालगायतबाट सम्पादन भएका काम र सम्बद्ध कर्मचारीमाथि छानबिन प्रक्रिया अघि बढाइसकिएको बताईएको छ।