चितवनमा शंकास्पद गतिविधि सञ्चालन गर्दै आएका दुई चिनियाँ नागरीक पक्राउ

चितवन : चितवनबाट प्रहरीले २ चिनियाँ नागरिक पक्राउ गरेको छ । चितवनमा शंकास्पद गतिविधि सञ्चालन गर्दै आइरहेका दुई चिनियाँलाई ह्याकरको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।

चितवन प्रहरीले भरतपुरको सिजी ल्याण्डमार्कस्थित होटल फेनमा शंकास्पद गतिविधि गरिरहेका २ चिनियाँ केही दिनअघि पक्राउ परेको जनाएको छ । दुई चिनियाँ नागरिकले होटल फेन प्रयोग गरेर चितवनमा ठूलो चिनियाँ लगानी भित्राउने भन्दै गतिविधि सञ्चालन गर्दै आइरहेका थिए ।

होटलका अलावा भरतपुरका विभिन्न घर चल्तीको मूल्यभन्दा बढी रकम दिएर उनीहरूले भाडामा लिएको पाइएको छ । ३० हजार भाडाको घरलाई उनीहरूले २ लाखसम्म तिर्नेगरी सम्झौता गरेको र भरतपुरमा रहेको एक पार्टी प्यालेससमेत उनीहरूले भाडामा लिएको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

चिनियाँहरुले रातदिन घरभित्रै बसी शंकास्पद गतिविधि गरेको स्थानीयहरूले प्रशासनमा खबर गरेका थिए । उनीहरूले गत असोज महिनादेखि भरतपुरमा यस्ता गतिविधि बढाउँदै लगेका थिए । प्रहरीले निगरानी बढाएपछि केही चिनियाँहरु आफ्ना उपकरणसहित भागेको जनाइएको छ ।समातिएका चिनियाँलाई अभद्र व्यवहार र साइवरक्राइम कसुरअन्तर्गत अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

प्रहरी प्रमुख मल्लका अनुसार, केहीले काठमाडौंमा काम गर्ने गरी अनुमति लिएका छन् । केही टुरिष्ट भिसामा छन् । उनीहरु यहाँबाट भागेपछि प्रहरीले उनीहरू बसेको घर तथा पार्टी प्यालेसमा सिल गरेको र थप अनुसन्धान भइरहेको उनले बताए ।

यसअघि काठमाडौंको बूढानीलकण्ठमा पनि चिनियाँहरूले अखडा जमाएर बसेका थिए । शंकास्पद गतिविधि गरेको स्थानीयको उजुरीका आधारमा प्रहरीले १२२ चिनियाँलाई पक्राउ गरेको छ । अहिले उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।