सीसीएमसीका बैठकले गरेका निर्णय

सीसीएमसीका बैठकले गरेका निर्णय

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले नयाँ स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने निर्णय गरेको छ । शनिबार सिंहदरबारमा बसेको सीसीएमसी बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो ।

जसमा शहरी क्षेत्रका शैक्षिक संस्था कम्तिमा तीन साता बन्द गर्न प्रस्ताव पारित गरेको छ । यस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।

रात्रीकालिन व्यवसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत भएको छ । सीसीएमसीको उक्त निर्णय मन्त्रिपरिषद बैठकबाट अनुमोदन भएपछि  लागु हुनेछ ।