उडिरहेको विमानभित्र यात्रुहरूबीच मुक्का हानाहान

उडिरहेको विमानभित्र  यात्रुहरूबीच मुक्का हानाहान

काठमाडौँ । लन्डनबाट बंगलादेश उडेको बंगलादेश एयरलाइन्सको विमानभित्र दुई यात्रुबीच मुठभेड भएको छ । सहयात्रीहरू आतंकित भएर हेरिरहेका बेला दुई पुरुष यात्रु एकअर्कालाई मुक्का हानाहान गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

‘ढाका ट्रिब्यून’का अनुसार विमान उडिरहेकै बेला दुई पुरुषबीच भएको विवादले उग्र रुप लिँदा कुटपिट भएको थियो । घटनाका कारण बालबालिका र वृद्धवृद्धासहित अन्य यात्रुहरूमा त्रास फैलिएको बताइएको छ । 

सामाजिक सञ्जालमा ‘भाइरल’ भएको घटनाको भिडियोमा दुई यात्रुबीच भनाभन भइरहेको र त्यसपछि स्थिति हात हालाहालमा परिणत भएको देखिन्छ । भिडियोमा उनीहरूले एकअर्कालाई मुक्का हानेको र मुठभेडका क्रममा एक यात्रुको टिसर्टसमेत च्यातिएको देख्न सकिन्छ ।

क्याबिन क्रुका सदस्य र अन्य यात्रुले हस्तक्षेप गर्दै दुवै पुरुषलाई छुट्याउने प्रयास गरेका थिए । भिडियो फुटेजमा अचानक भएको हिंसापछि विमानको क्याबिनभित्र उत्पन्न अस्तव्यस्तता र यात्रुहरूको प्रतिक्रिया समेत देखिन्छ ।

यस घटनाले उडानका क्रममा यात्रुको सुरक्षा र अनुशासन कायम राख्ने विषयमा चिन्ता बढाएको छ । यद्यपि, विवाद के कारणले सुरु भएको थियो वा ती यात्रुमाथि के–कस्तो कारबाही गरिएको थियो भन्नेबारे तत्काल कुनै विवरण उपलब्ध छैन । 

घटनाबारे सम्पर्क गर्दा बंगलादेश एयरलाइन्सका महाप्रबन्धक महबुबुद्दिन अहमदले आफूलाई घटनाबारे अहिलेसम्म जानकारी नभएको बताएका छन् । “मलाई अहिलेसम्म यस विषयमा जानकारी छैन । म यसबारे बुझ्दै छु,” उनले भने ।

छुटाउनुभयो कि ?