प्रतिनिधि सभाको आजको बैठकमा दोस्रो तहका नेताले सम्बोधन गर्ने

प्रतिनिधि सभाको आजको बैठकमा दोस्रो तहका नेताले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताले सम्बोधन गर्ने भएका छन्। संसद अधिवेशन सुरु भएको पहिले दिनकै बैठकमा दलका नेताले सम्बोधन गर्नुपर्ने भए पनि राजनीतिक दलहरुको किचलोका कारण चौथो बैठकमा मात्रै सम्बोधन गर्न लागेका हुन्।

बैठक सुरु भएपछि संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले क्रमैसँग बोल्ने गरी व्यवस्था मिलाइएको संसद सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी दिए। चालु अधिवेशनमा तत्कालीन नेकपा एमाले र माआवादी केन्द्र विभाजित भएको तथा एमालेभित्र मतभिन्नता र किचलो भएकाले पहिलो बैठकमै दलका नेताले सम्बोधन गर्ने परम्परा तोडिएको हो। चालु अधिवेशनको पहिलो दिन फागुन २३ मा बसेको बैठकमा सरकारले संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश पेश गर्न खोज्दा नेपाली कांग्रेसले अवरुद्ध गरेपछि त्यसपछिका दुईवटा बैठक शोक प्रस्ताव पारित गरेर सकिएका थिए।

आजको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका दुईवटा वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछन्। लोक सेवा आयोगको ६१औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा सदस्यहरुबाट प्राप्त अनुपस्थितिका सूचनाहरु स्वीकृतिका लागि प्रस्तुत गर्नेछन्। यस्तै‚ सभामुख सापकोटाले नै पूर्वराष्ट्रियसभा सदस्य एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्। कोइरालाको बुधवार राति निधन भएको थियो।