शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक शुक्रबार बस्ने

काठमाडौं । सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक शोक सभा पार्टी गरेर स्थगित भएको छ । अब अर्को बैठक चैत्र ६ गते शुक्रबार दिनको १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जानकारी दिएका छन् ।

आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेका छन् । मनोनयन हुने सांसदहरुमा डा. डिला संग्रौला, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित, सोमप्रसाद पाण्डेय रहेका छन् । 

यसैगरी सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव प्रस्तुत गरि पारित गरिएको छ । प्रतिनिधिसभा पुनःस्थापना गत फागुन ११ गते भएपछि आज तेस्रो पटक बैठक बसेको हो ।

यसअघि गत माघ २३ र २६ गते बैठक बसेको थियो । प्रतिनिधिसभाको बैठक सञ्चालन तयारीका लागि सोमबार कार्यव्यवस्था परमर्श समितिको बैठकसमेत बसेको थियो । सरकारको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकामा रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनःस्थापना गर्ने फैसला सुनाएको थियो ।