भेरी । केपी ओली समुहमा आवद्ध नभएको भन्दै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको ठाडो निर्देशनमा तीन जना कर्मचारीलाई बर्खास्त गरिएको छ । केपी ओली समुहका केन्द्रीय सदस्य रहेका मेयर घर्तीले नगरपालिकामा कार्यरत एमआईएस अपरेटर पवन शर्मा, सरोज वली र सहायक चौथो पदमा कार्यरत भरतकुमार शर्मालाई मंगलबार बर्खास्त गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले उठाएको टिप्पणी मेयर घर्तीले सदर गरेका छन् । कर्मचारी बर्खास्त गर्दा अधिकृतले सदर गर्नुपर्ने भएपनि मेयर आफैँले सदर गरेका छन् । तीन जना कर्मचारीलाई सोधिएको पत्रमा भनिएको छ, ‘तपाईंहरु प्रचण्ड र माधव समुहको प्रेस संगठन कर्णाली प्रदेश सदस्य रहेको कारण किन बखास्त नगर्ने रु’
तीनै जनाले आफूहरु कुनै पक्षमा नलागेको तर विगत देखि नै प्रेस संगठनमा रहेको जवाफ पठाएका थिए । आफूहरु प्रेस संगठनमा रहेपनि काममा बाधा नपारेको पत्रमा उल्लेख गरेका छन् । पवन शर्मालाई केपी ओली गुटको जाजरकोटको संयोजक बनाएर बधाइ दिएका मेयरले त्यसको एक हप्ता पछि प्रचण्ड र माधव गुट निकट पत्रकारको कर्णाली प्रदेश सदस्यमा तीनै जना कर्मचारीको नाम देखेपछि बर्खास्त गरेका हुन् ।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनले बिहीबार एक विज्ञप्ति जारी गरी राजनीतिक आस्थाकै आधारमा कर्मचारी बर्खास्ती गर्नु राम्रो नभएको बताउदै तुरुन्त यो कारवाही फिर्ता गर्न आग्रह गरिएको छ ।