प्रचण्ड–माधव समूहकै नेतृत्वमा नयाँ सरकार बन्छ– पूर्वमन्त्री भट्टराई

प्रचण्ड–माधव समूहकै नेतृत्वमा नयाँ सरकार बन्छ– पूर्वमन्त्री भट्टराई

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका युवा नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले फागुन २३ मा सुरू हुने प्रतिनिधिसभाको अधिवेशनले प्रचण्ड–माधव समूहको नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्।

प्रचण्ड–माधव समूहको नेकपा निकट प्रेस संगठनको प्रदेश १ मा आयोजित भेलालाई शनिबार इटहरीमा सम्बोधन गर्दै उनले प्रतिगमनविरूद्घ लडेका दलहरूको सरकार बन्ने बताएका हुन्। ‘फागुन २३ मा सुरू हुने प्रतिनिधिसभाले नयाँ प्रक्रियाबाट सरकार बनाउने छ,’ भट्टराईले भने, ‘अग्रगमनको आन्दोलन हाँक्ने हाम्रै दलको नेतृत्वमा हुनेछ।’ 

नयाँ सरकार कसरी बन्छ भन्नेबारे उनले खुलाएनन्। प्रचण्ड–नेपाल समूहको नेकपा एक्लैसँग सरकार बनाउन पुग्ने संख्या सदनमा छैन।
मुख्य विपक्षी कांग्रेस निर्णायक रहेको सदनमा उसले नेकपाको औपचारिक विभाजन नभई कसैलाई समर्थन नगर्ने बताएकाले भने नयाँ सरकार आफ्नै समूहको अगुवाइमा बन्ने दाबी गरेका हुन्।

नागरिकले सरकारका बारे असन्तोष प्रकट गर्ने  प्रदर्शन गर्नेस्थल नयाँ सरकारले तोक्ने दाबी गर्दै भट्टराईले भने, ‘मैले मन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो प्रस्ताव बारम्बार राखेको थिएँ, तर नागरिकको असन्तोष सुन्ने, त्यसलाई सम्बोधन गर्ने उहाँको प्राथमिकता होइन रहेछ। अब बन्ने सरकारले नागरिक आवाज सुन्ने, उनीहरूलाई जवाफ दिने काम गर्नेछ।’