नयाँ सरकार बन्न सक्दैन, यही सरकारले निरन्तरता पाउने सम्भावना छ– टोपबहादुर

नयाँ सरकार बन्न सक्दैन, यही सरकारले निरन्तरता पाउने सम्भावना छ– टोपबहादुर

काठमाडौं । ऊर्जामन्त्री एवं नेकपा ओली समूहका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले नयाँ सरकार बन्न नसक्ने अवस्थामा यही सरकारले निरन्तरता पाउने दाबी गरेका छन् । उनले मुलुक फेरि मध्यावधि निर्वाचनमा जाने सम्भावना पनि उत्तिकै रहेको बताए ।

अनेरास्ववियुले शुक्रवार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको कार्यक्रममा मन्त्री रायमाझीले सरकार बन्ने पाँचवटा सम्भावना रहेको औंल्याएका हुन् । प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याएमा त्यो असफल भयो भने देश फेरि मध्यावधि निर्वाचनमा जाने सम्भावना पहिलो नम्बरमा रहेको उनले दाबी गरे । 

मन्त्री रायमाझीले कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै थपे, ‘हामीबाट अलग भएर गएका साथीहरूले सरकार बनाउने सम्भावना नभएकाले यही सरकार चलिरहन्छ, यो सरकार अगाडि बढिरहन्छ ।’ मन्त्री रायमाझीले फागुन ११ पछि परिस्थितिमा फरक आएपनि सबै सम्भावनाका ढोका खुल्न बाँकी रहेको बताए ।