सरकारमा सहभागी हुनेबारे कांग्रेसले गर्यो यस्तो निर्णय

सरकारमा सहभागी हुनेबारे कांग्रेसले गर्यो यस्तो निर्णय

काठमाडौं । नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवासमा विहीबार बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरुसँगको छलफलपछि कांग्रेसले नेकपा औपचारिक रुपमा विभाजन नभएसम्म कुनै पनि समूहलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भने,‘कुनै पनि समूहले गरेको प्रस्तावका बारेमा निर्णय गर्ने बेला अहिले भएको छैन । कम्युनिस्ट पार्टी एकै छ । संसदीय दलको नेता ओली नै हुनुहुन्छ । उहाँको पार्टी एकै रहन्छ वा अर्कै परिस्थिति आउँछ भन्ने कांग्रेसको नियन्त्रणको विषय होइन । कांग्रेसले यो विषय टुंगो लागेपछि मात्रै आफ्नो धारणा बनाउँछ ।’

प्रतिनिधिसभा बैठक शुरु भएपछि जसरी राजनीतिक घटनाक्रम विकसित हुन्छ सोही अनुरुप निर्णय गर्ने  उनले बताए । उनले भने,‘ संसद बैठक शुरु भएपछि जसरी परिस्थिति अघि बढ्छ, त्यो अवस्थामा कांग्रेसले आवश्यक निर्णय गर्छ । अहिले यो समूह वा अर्को समूहलाई समर्थन गर्छु भन्ने बेला भएको छैन ।’

संसदमा अविश्वासको प्रस्ताव पेस भयो भने त्यसपछि मात्रै आवश्यक निर्णय गर्ने कांग्रेसले जनाएको छ ।