बालिका बलात्कार गर्ने १६ वर्षीय किशोरलाई ८ वर्ष जेल फैसला

बालिका बलात्कार गर्ने १६ वर्षीय किशोरलाई ८ वर्ष जेल फैसला

सल्यान । १४ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका शारदा नगरपालिका– १५ निवासी १६ वर्षीय बालकलाई १२ वर्षसम्म कैदमा राख्ने फैसला भएको छ। आरोपी नाबालिग भएकाले ८ वर्षसम्म जेलमा बस्नुपर्ने भएको छ।

जिल्ला अदालतका न्यायाधीश कुल प्रसाद पाण्डेको इजलासले बालकलाई अभियोग दावी पुगेको भन्दै १२ वर्ष कैदको फैसला गरेको अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए।

तर, आरोपित बालक १८ वर्ष नपुगेकाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३४ को उपदफा ४ बमोजिम ४ वर्ष कैद छुट भइ ८ वर्षको कैद सजाय भएको जिल्ला न्यायाधिवक्ता भीमसेन काफ्लेले बताए। उनले बालबालिकाको हकमा दुई तिहाइको सजाय कम भएका कारण ८ वर्ष कैद सजाय भएको जानकारी दिए।

०७६ माघ १२ गते बालिका बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा ०७६ फागुन २० गते आरोपित विरुद्ध जाहेरी दर्ता गराएका थिए।

आरोपितलाई ०७६ फागुन २९ गते अदालतको आदेशले बाल सुधार गृह नेपालगन्ज पठाइएको थियो।