अदालतको फैसलापछि नयाँ प्रधानमन्त्री खोज्नुपर्ने हुन सक्छ : ओली

अदालतको फैसलापछि नयाँ प्रधानमन्त्री खोज्नुपर्ने हुन सक्छ : ओली

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई तीन दिनमै सर्वोच्च अदालतले प्रतिनिधी सभा बिघटन सम्बन्धी मुद्दाको फैसला गर्ने बताएका छन्। कञ्चनपुरमा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले देश निर्वाचनतर्फ गइसकेको बताउँदै अबको २–३ दिनमा अदालतले पनि मुद्धा टुङगाउने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई धम्की दिन आवश्यक छैन, अदालतलाई धम्की दिने बानी पनि छैन, हामी लोकतन्त्रमा बिश्वास गर्ने हुँदा न्यायलयलाई धम्की दिँदैनौँ’ प्रधानमन्त्री ओलीले भने, ‘यदी संसद पुर्नस्थापना भयो भने प्रधानमन्त्री खोज्नुपर्छ, समिकरणमा अनेक खेल हुन्छन्, सांसद किनबेच हुन्छन्, विकास निर्माण लथालिंग हुन्छ।’

अदालतले जस्तो फैसला गरे पनि आफूलाई कुनै छटपटी नहुने प्रधानमन्त्रीले बताए। उनले भने, ‘हामी देश बनाउने अभियानमा भएकाले जे भएपनि फरक पर्दैन।’ प्रधानमन्त्री ओलीले महाकाली सन्धीको स्मरण गर्दै भने, ‘महाकाली सन्धीमा नदी बेचेको होइन, सदुपयोग गरेको हो।’ महाकालीको पानी लिएर भारतले सिचाई गरिरहेको तर नेपालमा सुख्खा रहेकाले अब चाँडै कञ्चनपुरको दोधारा चाँदनीमा सिचाइ पुग्ने बताए।

सम्बोधनको अधिकांश समय सुदूरपश्चिमको विकास निर्माणमा खर्चिएका ओलीले वर्तमान सरकारले विकास निर्माणमा चमात्कार गरेको बताए। उनले भने, ‘हाम्रो काम बिध्वंस गर्ने होइन, निर्माण गर्ने हो। अब मेचिदेखि महाकालीसम्म रेल कुद्छ। त्यसका लागि काम भइरहेको छ।’

ओलीले भारतले मिचेको भूमि समेटेर सरकारले नक्सा र संविधानमा उल्लेख गरेको भन्दै अब गुमेको भूमि फिर्ता ल्याउने दाबी गरे। ‘हामीले यस क्षेत्रको मात्रै होइन समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका छौं’ उनले भने, ‘अब यसले एउटा वातावरण बनेको छ। भारतसँग सम्वाद भइरहेको छ।’

सुदूरपश्चिम सुन्दर पश्चिम मात्रै नभएर आर्थिक हिसाबले विकसित हुने दिशामा अघि बढेको भन्दै उनले सरकारले विकसित प्रदेशका रुपमा अगाडि बढाउने बताए। ‘औद्योगिक क्षेत्रले यहाँका जनतालाई रोजगारी दिने छ। यहाँका उद्योगले सीप विकास र तालिम, अनि रोजगारीको सिर्जना गर्नेछन्’ उनले भने, ‘औद्योगिक क्षेत्र स्थापना भएपछि अन्य गतिविधि, आर्थिक गतिविधि र क्रियाकलाप बढ्ने छन्। लगानीको वातावरण बन्नेछ।’उनले आफ्नो नेतृत्वको सरकारले सम्वृद्ध नेपाल र सुखी नेपाली नारा अघि बढाइरहेको भन्दै देशले विकासको गति लिने बताए।