प्रदेश–१ मा नेकपाका दुई समूहबीच सहमति जुटेन, प्रचण्ड–माधव समूह अविश्वासको प्रस्ताव पेश गरिनुपर्ने अडानमा

प्रदेश–१ मा नेकपाका दुई समूहबीच सहमति जुटेन, प्रचण्ड–माधव समूह अविश्वासको प्रस्ताव पेश गरिनुपर्ने अडानमा

बिराटनगर । प्रदेश–१ को प्रदेशसभा बैठक राख्ने बारे नेकपाको दुई समूहबीच सहमति जुट्न सकेन । बैठक अगाडि दुई समूहका नेताहरु वार्तामा बसेका थिए । तर, आ–आफ्नो अडान छोड्न नमानेपछि बिना सहमति नेताहरु उठेका छन् ।

ओली समूहका नेताहरुले आइतबार निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेका थिए । तर, प्रचण्ड–माधव समूहका नेताहरुले कम्तिमा आइतबार बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गरिनुपर्ने अडानमा कायमै रहे ।

बैठक १८ दिन स्थगित भइसकेकाले अब मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्ताव टेबल गरेर अगाडि बढ्नुपर्ने अडानमै रह्यो । ‘कम्तिमा आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गरौं भन्ने हो । बरु, त्यसपछि छलफल गर्न सकिन्छ’, वार्तामा सहभागी प्रचण्ड–माधव समूहका नेता राजेन्द्र राईले भने ।

तर, यसमा ओली समूह तयार भएनन् । दुवै समूह अडानमा कायमै रहेपछि वार्ता बिना निष्कर्ष सकिएको छ । वार्तामा ओली समूहबाट आन्तरिक मामला मन्त्री रहेका हिक्मत कार्की र बिमल कार्की सहभागी थिए भने प्रचण्ड–माधव समूहबाट राजेन्द्र राई, इन्द्र आङ्बो र लक्ष्मण तिवारी सहभागी थिए ।

बैठक बस्नेबारे कार्यव्यवस्था परामर्श समितको बैठकमा पनि दुवै समूहले यही अडान राखेका छन् । कुरा मिल्न नसक्दा दुई बजे बोलाइएको प्रदेशसभा बैठक बस्न सकेको छैन । मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै ३७ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् ।