काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बताएको हो ।
विभागले करिब २९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लन लागेको जानकारी समेत गराएको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनगणना गरिने विभागको भनाइ छ ।
२०७७ चैत्र ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत्र ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए।
जनगणना विभिन्न प्रविधि अपनाएर गरिने उनको भनाइ छ । मानिसको जनगणनाको अलवा व्यावसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उनले बताए । अनलाइन दरखास्त केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट अन्तर्गत सबडोमेन www.censushrms.cbs.gov.np तथा केन्द्रीय तथ्याङ्क विभागको वेबसाइट www.cbs.gov.np मा गएर भर्न सकिनेछ ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक पालिकाकै जनशक्तिबाट गर्ने तथा पालिकामै तालिमको व्यवस्था गरिने बताए । अघिल्लो जनगणनामा भन्दा यसपटक ८ वटा बढी आधारभूत प्रश्नहरु राखिएको उनको भनाइ छ ।
राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौं जनगणना हो । नेपालमा विसं १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । बाह्रौं जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने पनि विभागले बताएको छ ।