प्रदीप ज्ञवाली दिल्ली पुगेपछि भारतले भन्यो- सीमाबारे छलफल हुँदैन !

प्रदीप ज्ञवाली दिल्ली पुगेपछि भारतले भन्यो- सीमाबारे छलफल हुँदैन !

नयाँदिल्ली । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतसँग संयुक्त आयोगको बैठकमा भाग लिन यही शुक्रबार नयाँदिल्ली पुगेका छन् । नेपाली पक्षले आयोगको बैठकमा सीमा विवादबारे पनि छलफल हुने बताइरहँदा भारतीय पक्षबाट भने यसको ठीक विपरीत सीमा विवादबारे छलफल नहुने समाचार आएको छ ।

ज्ञवालीको दुईदिने भ्रमण दुई देशबीचको द्वीपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले भएको तर सीमा विवादबारे छलफल गर्नका लागि यो मञ्च उपयुक्त नभएको भारतीय पक्षको भनाइ छ । कोभिड संकटपछि भारत भ्रमण गर्ने परराष्ट्रमन्त्री ज्ञवाली पहिलो नेपाली उच्चस्तरीय नेता पनि हुन् ।

यस्तै उनी प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर निर्वाचनको आह्वान गरेपछि भारत भ्रमण गर्ने पहिलो नेपाली नेता समेत हुन् । गत मंगलबार परराष्ट्र मन्त्रालयले ज्ञवालीको भारत भ्रमणको घोषणा गर्ने क्रममा विज्ञप्तिमा भनिएको थियो कि, बैठकमा सीमा विवादको कुरा पनि उठाइनेछ ।

तर ज्ञवाली दिल्ली अवतरण गरेकै दिन भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले संयुक्त आयोग सीमा विवादबारे छलफल गर्ने उपयुक्त मञ्च नभएको प्रतिक्रिया दिएका छन् । 'सीमा मुद्दाबारे हाम्रो स्थिति सबैलाई थाहै छ । म भन्न चाहन्छु, संयुक्त आयोग बैठक र सीमा सवाल छुट्टाछुट्टै संयन्त्र हुन्,' श्रीवास्तवले साप्ताहिक ब्रिफिङको क्रममा भनेका छन् ।

यस्तै संयुक्त आयोग उच्च स्तरमा दुई देशबीचको साझेदारीको समग्र पूनरावलोकन गर्ने महत्वपूर्ण संयन्त्र भएको र यसले दुई देशको विशेष सम्बन्धलाई अझै राम्रो बनाउन राजनीतिक मार्गदर्शनको अवसर प्रदान गर्ने रुपमा श्रीवास्तवले व्याख्या गरेका थिए । साथै भारतले विभिन्न क्षेत्रमा रचनात्मक छलफल गर्ने पनि उनले बताएका छन् ।

ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग शुक्रबार भेटवार्ता गर्नेछन् । नेपाल सरकारले गत वर्ष कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछि दुई देशबीच सम्बन्धमा तिक्तता आएको बताइन्छ । यद्यपि परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमण गर्नुअघि भारतीय विदेश सचिव सेना प्रमुख सहित उच्च अधिकारीहरुले नेपाल भ्रमण गरिसकेका थिए भनेर आजको अन्नपूर्ण पोष्टमा खबर छ ।