बयलगाडा देखाएर प्रतिगमनको विरोध

बयलगाडा देखाएर प्रतिगमनको विरोध

ललितपुर । अनेरास्ववियूले बयलगाडा देखाएर प्रतिगमनको विरोध गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेको विरोधमा अनेरास्ववियूका विद्यार्थीहरुले साङ्केतिकरूपमा ठेलालाई बयलगाडा बनाएर प्रदर्शन गरेका हुन् ।

आइतबार अनेरास्ववियूले पाटन संयुक्त क्याम्पसअगाडि बयलगाडा देखाएर प्रदर्शन गरेको हो । प्रधानमन्त्री ओलीले २०६२-०६३ को दोस्रो जनआन्दोलनका बेला ‘लोकतन्त्र, गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेका कुरालाई लिएर उनीहरुले व्यंग्य गरेका थिए ।

पाटन क्याम्पसको अनेरास्ववियू कमिटीका विद्यार्थीहरुले बयलगाडालाई सडकमा ल्याउनेबित्तिकै प्रहरीले हस्तक्षेप गर्दै बयलगाडा नियन्त्रणमा लिएको थियो । बलयगाडा प्रदर्शन गर्न पाउनुपर्ने भन्दै विद्यार्थी र प्रहरीबीच केहीबेर सडकमा घम्साघम्सीसमेत भयो ।

प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभा भङ्ग गरेको भन्दै अनेरास्ववियूको एक समूह आन्दोलनमा उत्रिएको हो । अहिले अनेरास्ववियूका विद्यार्थीहरुले हरेक दिन प्रतिनिधिसभा विघटनको कदम सच्याउन माग गर्दै प्रदर्शन गरिरहेका छन् ।