सुवास नेम्वाङ र अग्नि खरेल ओलीका जागिरेमात्रै हुन्: झलनाथ खनाल

सुवास नेम्वाङ र अग्नि खरेल ओलीका जागिरेमात्रै हुन्: झलनाथ खनाल

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली आफैले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर बनाएको संविधानलाई बलात्कार गरेर संसद विघटन गरेको बताएका छन् । शनिबार चावहिलमा नेकपा सम्पर्क समन्वय कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्रीले संसद विघटन गर्ने कुनै अधिकार नभएको भनेर आफैैले हस्ताक्षर गरेको संविधानलाई ओलीले बलात्कार गरेको बताएका हुन् ।

‘केपी ओली आफैले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर बनाएको संविधानलाई बलात्कार गरेर संसद् भंग गर्नुभयो । उहाँ प्रधानमन्त्री भएदेखि नै तानाशाहको जस्तो प्रबृति देखाउन थाल्नुभयो, नेता खनालले भने, ‘प्रधानमन्त्री भएदेखि नै ओलीले अनेक शक्ति केन्द्रहरु आफ्नो मातहत ल्याउनुभयो, राष्ट्रिय अनुसन्धान विभागलाई आफ्नो मातहत ल्याउनुभयो र तानशाह बन्ने प्रयास गर्नुभयो ।’

उनले संविधानको धारा ७६ र १०० ले संसदभित्र नै वैकल्पिक सरकारका सम्भावना रहुँजेल संसद विघटन गर्न नहुने र संसद पाँचै वर्ष चल्नुपर्ने प्रवधान राखिएको जानकारी दिए । उनले धारा ७६ बनाउने क्रममा छलफलमा अनेकौँ घण्टा विताएको र यो कुरा हाल प्रधानमन्त्री ओलीका महान्यायाधिवक्ता रहेका अग्नि खरेल र तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई पनि थाहा भएको बताए । उनले नेम्वाङ र खरेलका भनाइहरु अहिले पनि सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको बताए ।

‘नेम्वाङ र खरेल आज केपी ओलीजस्तो तानशाहका पछाडि एउटा जागिरेजस्तो भएर बसेका छन् । उनीहरुसँग आफ्नो व्यक्तित्व, स्वतन्त्रता छैन’, उनले भने, ‘सोचुन् उनीहरुको पनि एउटा व्यक्तित्व थियो, त्यो व्यक्तिलाई स्थापित गरेर सही दिशामा अगाडि बढुन भन्ने हामी चाहन्छौँ ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाबाट संविधान बनाएपनि ओलीका कारण समाजवादको लक्ष्यमा सरकार हिँड्न नसकेको बताए ।

समाजवादको बाटो अवलम्बन गर्नुको विकल्प नभएको भन्दै उनले यसका लागि कार्यदिशा, लक्ष्य र कार्यक्रम नयाँ बनाएर अघि बढ्नकै लागि दुई पार्टीबीच एकता गरिएपनि ओली त्यस दिशातर्फ नहिँडेको आरोप लगाए ।