सूर्य थापाले पूर्वप्रधानन्यायाधीशलाई गति छाडा भनेपछि...

सूर्य थापाले पूर्वप्रधानन्यायाधीशलाई गति छाडा भनेपछि...

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चारजना पूर्वप्रधानन्यायाधीशले गति छाडेको बताएका छन् । थापाले अदालतमा विचाराधिन मुद्दाको विषयमा विज्ञप्ति निकालेर उनीहरूले गति छाडेको आरोप लगाएका छन् ।

संसद विघटन प्रधानमन्त्री ओलीको असंवैधानिक कदम भन्दै शुक्रबार चार पूर्वप्रधानन्यायाधीशले विज्ञप्ति सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै थापाले यस्तो बताएका हुन् ।

सामाजिक संजालमा लेख्दै थापाले स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्नका निम्ति अवकाशको जीवनमा यो काम गर्नु गतल भएको दाबी गर्दै यस्तो बताएका हुन् ।

थापाले फेसबुकमा लेखेका छन् ‘कमसेकम सम्मानित सर्वोच्च अदालतको नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिन्थ्यो होला।’

उनले रिटायर्ड प्रधानन्यायाधीशहरूले संवैधानिक इजलाशले गरिरहेको सुनुवाइलाई प्रभावित गर्न जारी गरेको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णतः गलत भएको उल्लेख गरेका छन् ।

यो कामले अराजकता र भिडतन्त्रको पैरवीलाई प्रोत्साहन गर्ने उनको तर्क छ । यस्तो अभ्यास कतै नभएकोसमेत उनले दाबी गरेका छन् ।